आइतवार, ६ मंसिर २०८३

बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

२३ पटक पढिएको
४ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

कृष्ण बद्री पौडेल हेटौंडा  , मकाउनपुर  २०८३ मंसिर ५ गते

बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ। प्रदेशका १३ वटै जिल्ला र ११९ स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै २०८३ मंसिर ५ गते बागमती प्रदेशलाई औपचारिक रूपमा आज हेटौंडा मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

धादिङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले बागमती प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको जानकारी दिनुभएको हो।

बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट सुरक्षित राख्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत १६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोपको पूर्ण मात्रा प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ।

बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका सचिव एवं प्रदेश खोप समन्वय समितिका अध्यक्ष डा. सुमित्रा गौतमको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामा, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झा, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक वसन्त अधिकारी, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमलगायतको उपस्थिति थियो।

त्यसैगरी मन्त्रालयका विभिन्न महाशाखा तथा शाखा प्रमुख, १३ जिल्लाका जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि, प्रदेश तथा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), वाटरएडलगायत विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै बालबालिकाले नियमित खोप पाउने अधिकार सुनिश्चित गर्नुका साथै खोप सेवाको निरन्तरता र उपलब्धिको दिगोपना कायम राख्ने जिम्मेवारीसमेत थपिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।