रातो मुला
अधिवक्ता – कृष्णराज अधिकारी
अं साँची एउटा कुरा लेख्छु भनेको भुसुक्कै बिर्सिएछु । कुरा रातो मुलाको हो । हुन त जाबो रातो मुलाको के कुरा गर्नु ? तै पनि मनमा खुल्दुली लागि हाल्यो के गर्ने त ? कुरा यसै वर्षको हो । असोजको दोस्रो हप्ता , सोह्र श्राद्धको समय , अष्टमी थितिमा बुबाको श्राद्ध पर्दछ । श्राद्धको अघिल्लो दिन देखिनै चोखो नितो गरी बस्नु पर्ने हुँदा प्राय म घर छोडेर बाहिर तिर कतै पनि जाने गर्दिन ।
वर्षे बालीको मकै भित्र्याए पछि घर मुनिको पाटो त्यसै बाँझो बसी रहेको थियो । झरीले गर्दा जोत बाँ गर्न सकेको थिएन । बल्ल बल्ल दुई चार दिन घामको मुख के देखिएको थियो, गाउँ तिर खनजोत गर्न भ्याइ नभ्याई हुन थाल्यो । त्यसो नहोस् पनि किन ? साग मुला लगाउन ढिला भैसकेको थियो । मैले पनि बारी खनजोत गर्न लगाए । बारीको झार पल्टाइयो , डल्ला फोरियो । माटो धुलिमैदान भयो । घर सल्लाह अनुसार ५,७ ड्याङ आलु , ५,७ ड्याङ सेतो मुला , २,४ ड्याङ रातो मुला अनि रायो , धानिया ,गाजर चम्सुर , लसुन यस्तै यस्तै तरकारीका बिउ बिजनहरू लगाउने निधो भयो । माटो भने अझै १,२ दिनको लागि रमाएको थिएन , हल्का चिसो चिसो चिम्ट्याईलो । यसो टिभी खोलि समाचार हेरेको त असोजको ९ गते देखि १२ गतेसम्म घनघोर वर्षा हुने सम्भावना छ पो भन्छ भयो अब ! कत्रो दुख गरेर खनजोत गरेको बर्बादै हुने भयो जस्तो लाग्यो अब के गर्ने ? बिहानी को समय थियो म बारीमा तरकारी लगाउने ठाउँ बनाउन थाले । हामी बुढाबुढी भएर बारी झिलिमिली बनायौ । सबै ठाउँ ठिक्क भयो । दिउँसो सागसब्जी लगायौ । भने अनुसार नै सबै बिउ बिजन लगाइयो तर रातो मुला र आलु को बिउ भने बजार बाट ल्याउन छुटेछ । बजार नजाने भनेको त्यसकै लागि भने पनि बेलुकी पख जान पर्ने अवस्था आयो । झरी पर्नु अगाडि नै सबै काम सक्न पाए ढुक्क हुन्थ्यो भन्ने सोचेँ ।
हेर्दा राम्रो खाँदा मिठो मलार्इ त रातो मुला औधी मन पर्छ । झनै त्यही पो छैन त ? रातो मुलाको (Radish) विभिन्न स्वास्थ्य लाभ र औषधीय गुणहरू छन्, जुन पारंपरिक आयुर्वेद र आधुनिक चिकित्सा प्रणालीमा महत्त्वपूर्ण मानिन्छ। दिउसो पख मोबाइलमा घण्टी बज्यो । यसो हेरेको डा.सा बको फोन रहेछ । भर्खर मात्र निजामती सेवा छोडी बसेका समाजमा केही गर्न पर्छ भन्ने भावनाका कृष्ण बद्री पौडेल । स्वभाव भने अत्यन्तै चञ्चल । देखे सम्झेका कुराहरू तुरुन्तै गर्न पर्ने । गाउँलेहरूले दिएको पदवी डाक्टर त्यसैले म पनि उनलाई डा. साब नै भन्ने गर्दछु । डा.साबलाइ एउटा कागजमा मेरो सही तुरुन्तै चाहिने भएछ । कता हो भनी सोधे- मैले घरमै हो आवश्यक भए घरमै आउनु आज त म बजार आउँदिन होला बरु तपाइ आउँदा २ दर्जन केरा र एक प्याकेट रातो मुलाको बिउ पनि ल्याउनु है – सबै कुरा फोनमै भयो । मलाइ पनि ढुक्क । बजार जानै परेन । फोनमा संवाद भएको १०,१५ मिनट भित्रमा नै पौडेल सरको आगमन भयो । हामी सबै घरमै थियौ । ल्याएको सामान दिँदै उनले भने -“अरू त ठिकै हो तर रातो मुला भने अलि महँगो किन्न पनि नसक्नु ! ” भन्दै सर्लक्क परेको गाजर पो झोलाबाट निकाली देखाउँछन् । हामी तिन छक ! भनेको लगाउने रातो मुलाको बिउ, आयो खाने गाजर ! कति हाँस्नु । उनी आफ्नो काम सकी गए । हाम्रो भने काम अधुरै रह्यो ।
वर्षा हुनु पूर्व नै साग मुला लगाउने मेरो योजना अधुरै हुन्छ कि जस्तो लाग्यो । तत्काल सम्झिएँ । मेरो एउटा भतिज बजारको विद्यालयमा शिक्षक छ । उसैलाई बेलुका घर आउँदा एक पत्ता रातो मुलाको बिउ पनि ल्याइदे है भने । उ साँझ पख घर आइपुग्यो । प्लास्टिकको झोलाबाट एउटा गोल्टिन बट्टा निकाल्दै रातो मुला त नसक्नु पो हुँदो रहेछ भन्छ । किन भनेको त बट्टाकै १२ सय परेको छ , कति महँगो । म फेरी दङ्ग परेँ । किन यति महँगो मा यत्रो बट्टा ल्याएको त मैले सोधे । हैन पसलेले पनि तपाईँलाई बिउ पनि धेरै हुने राम्रो पनि यही लैजानुहोस् भन्यो त्यसैले – उसले भन्यो । लौ भयो अब हामीलाई त १२००। रुपैयाँले त कम्तीमा ५ वर्षलाई मुला नै किन्यो भने पनि पुग्छ , यकैचोटी किन चाहियो यत्रो पैसाको मुलाको बिउ । जहाँ बाट किनी ल्याएको हो उसैलाई फिर्ता पठाइ दे – मैले हातमा सामान थमाउँदै भने ।
भोलीपल्ट मध्यानीमा पितृ तर्पण कार्य सम्पन्न भयो । नभन्दै बेलुका साँझ बाट पानी पर्न सुरु गरेको ३ दिन ३ रात झरीले आँखै नउघारी मुसलधारे वर्षा ! यसपालि भने मौसमविद्हरूले कुरा मिलाए । यत्रतत्र अस्तव्यस्त भएको समाचार आउन थाल्यो । बाढी र पहिरोमा परी ठुलो धनजनको नोक्सानी भयो । राजमार्गहरू बगे । गुड्दागुड्दैको सवारी साधन पुरियो । जताततै त्राहिमाम् त्राहिमाम् । असोजको दोस्रो साता तिर यति ठुलो धनमालको क्षति भएको सायदै नेपालमा पहिलो घटना हुन सक्छ । जाबो मैले लगाएको तरकारी बारीको त के कुरा गर्नु ?
बारीको ड्याङ त्यसै खालि थियो । झरी उघ्रिए पछि बजार गए । बेलुका फर्कँदा रातो मुलाको बिउ एक पत्ता किने , रु ५० ।- पर्ने रहेछ । त्यति भए मलाइ काफी । कता को रु १२०० । को बिउ , कताको गाजर ! त्यस दिन पछि थाहा भयो कि घरायसी साना साना कुराहरू सकेसम्म आफैले सम्पन्न गर्नु पर्छ अरूहरूको भर पर्यो भने कहिले काहीँ मलाइ झैँ अर्थको अनर्थ हुन पनि सक्छ । कस्तो लाग्यो रातो मुलाको कहानी ?






