प्रहरी र सशस्त्र प्रहरीको ४३ सदस्यीय संयुक्त टोलीद्वारा गाँजाका बोट फडानी
धादिङ। धादिङको गल्छी गाउँपालिकामा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालको संयुक्त सुरक्षा टोलीले गल्छी गाउँपालिका–५ अन्तर्गत दाङ, अर्चा र ठुलो चौर क्षेत्रमा अवैध रूपमा लगाइएको अनुमानित ३५ रोपनी क्षेत्रफलको गाँजाका बोट फडानी गरी पूर्ण रूपमा नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीको कमाण्डमा २० जना, जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक प्रकाश दुबेको कमाण्डमा १० जना तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस क्याम्प आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा १३ जना गरी कुल ४३ जनाको संयुक्त सुरक्षा टोली उक्त अभियानमा परिचालन भएको थियो।
अवैध लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमार्फत गाँजाका बोटहरू फडानी गरी पूर्ण रूपमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण तथा स्वस्थ र सुरक्षित समाज निर्माणका लागि प्रहरीले अभियानलाई निरन्तरता दिँदै आएको छ।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।